बजारमा ठगिनुभो? वाणिज्य विभागलाई जानकारी दिनुहोस्!
चाडपर्व नजिकिँदै गर्दा तपाई कुनै खाद्यान्न, लत्ताकपडा वा औषधीजन्य सामानमा ठगिनुभएको छ? यदि तपाई ति बस्तुको गुणस्तर र मूल्यमा ठगिनु भएको छ भने वाणिज्य विभागलाई जानकारी गराउनुहोस्। तपाईको एउटा जानकारीबाट अन्य उपभोक्तामाथि हुने ठगी नियन्त्रण हुन सक्छ।
तपाईले विभागलाई दिएको सुझावअनुसार विभागलाई बजारको अनुगमन गर्न सहज हुनेछ। चाडपर्वका बेला उपभोक्ता ठगिने क्रम बढ्न सक्ने हुँदा त्यसतर्फ उपभोक्ता स्वयम् पनि सजग हुनु जरुरी छ।
‘वाणिज्य विभागको टोल फ्रि नं. १६६००१–३३०४४ बाट उपभोक्ताले दिएको सुझावअनुसार पनि अनुगमन गर्नेछौँ’ विभागका प्रवक्ता हरिनारायण बेल्बासेले सेतोपाटीलाई भने।
वाणिज्य विभाग निरन्तरजसो अनुगमनकै क्रममा रहेको जानकारी दिँदै उनले उपभोक्ताले सुझाव दिएमा सोअनुसार पनि अनुगमनको तयारी गर्ने बताए।
उपभोक्ताहरुमाथि ठगी हुने गरे पनि उपभोक्ताहरुले गुनासो नगर्ने गरेको भन्दै उनले विभागमा सम्पूर्ण ठगीका विवरण जानकारी दिन सबै उपभोक्तालाई आग्रह गरे। ‘चाडपर्वका बेला उपभोक्ता ठगिने क्रम बढी नै हुन्छ, त्यसकारण यो समयमा हामीले पनि अनुगमनमा कडाई गर्नेछौँ’ बेल्बासेले भने।
पछिल्लो पटक ठगी नियन्त्रण गर्नकै लागि भनेर सरकारले विभिन्न खाद्य तथा लत्ताकपडाका बस्तुहरुमा एमआरपी तोक्ने तयारी गरेको उनले बताए।
‘तोकिएका बस्तुहरुमा एमआरपी कायम गरेपछि पनि धेरै ठगी नियन्त्रण हुन सक्छ,’ उनले भने ‘यसको तयारीका लागि भन्सार विभागसित सहकार्य गरेर वाणिज्य विभाग अघि बढिरहेको छ।’
एमआरपी तोकेर लागू गराउने सम्वन्धमा अहिले कार्ययोजना बनाउने काम भइरहेको उनले बताए। एमआरपी तोकिएपछि ति बस्तुमा उपभोक्तासित बढी मूल्य लिन नपाइने र लिएको खण्डमा कार्वाही हुने उनले बताए।

0 comments
प्रतिक्रिया दिनुश